Skip

Hamro Sanchar

एसियन गेम्स छनोटमा सुखद् सुरुआतको लक्ष्य सहित मैदान उत्रदै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ, काठमाडौं । एसियन गेम्स छनोटको आफ्नो पहिलो खेलमा आज चीनको सामना गर्दा नेपाली महिला क्रिकेट टोली सुखद् सुरुआतको लक्ष्यमा हुनेछ ।

समूह ‘बी’ अन्तर्गतको खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । तुलनात्मक रूपमा नेपालका लागि चीन सहज प्रतिस्पर्धी हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो वरीयतामा नेपाल २२औँ र चीन ४३औँ स्थानमा छन् ।

नेपाल इन्दु बर्मा र चीन मिङयु सुको कप्तानीमा मैदान उत्रिनेछन् । नेपाल सुखद् सुरुआतको लक्ष्यमा रहँदा चीन भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने सोचमा छ ।

चीनले मंगलबार सम्पन्न पहिलो खेलमा इन्डोनेसियाविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो ।

‘हेड टु हेड’मा नेपाल अगाडि

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र चीन तेस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । यी दुई टोली सात वर्ष तीन महिनापछि आमनेसामने हुन लागेका हुन् ।

इतिहास हेर्ने हो भने नेपाल बलियो देखिन्छ । यसअघि नेपाल र चीनले दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुवै खेलमा नेपाल विजयी भएको छ ।

नेपालले पहिलो पटक सन् २०१९ को जनवरीमा चीनसँग पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा नेपालले १० विकेटको सानदार जित दर्ता गरेको थियो ।

पछिल्लोपटक नेपालले सन् २०१९ कै फेब्रुअरीमा चीनको सामना गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पाँच रनले विजयी भएको थियो । तर, यो बीचको लामो समयपछि यी दुई टोली प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

 


प्रतिकृया दिनुहोस्