
४ जेठ, काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।
सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिमा सबैभन्दा कम खेलमा १५० विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले यो उपलब्धि हात पारेका हुन् ।
उनलाई यो कीर्तिमान कायम गर्न ७३ खेल लाग्यो । सन्दीपले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् । स्टार्कले ७७ खेलमा यो कीर्तिमान बनाएका थिए ।
सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीपले २०२३ मा ओमानविरुद्ध १०० विकेट पूरा गरेका थिए।
सन्दीपले ४२ खेलमा यो उपलब्धि हासिल गर्दै अफगानिस्तानका रसिद खानको नाममा रहेको ४४ खेलको कीर्तिमान तोडेका थिए ।
यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो एसोसिएट बलर पनि बनेका छन् ।












