Skip

Hamro Sanchar

घरेलु मैदानमा नेपाल स्कटल्यान्डसँग २ रनले हार्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा स्कटल्यान्डसँग पहिलो हार बेहोरेको छ।

आज भएको लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाली टोली स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको हो। नेपालले घरेलु मैदानमा स्कटल्यान्डसँग पहिलो हार भोगेको हो।

स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरे पनि वर्षाले खेल प्रभावित हुँदा नेपालले २२१ रनको नयाँ लक्ष्य पाएको थियो। नेपालले दोस्रो इनिङ्समा ब्याटिङ सुरु गर्नुअघि नै पानी परेपछि खेलमा ११ ओभर घटाइएको थियो। ११ ओभर घट्दा नेपालले ३९ ओभरमा २२१ रन बनाउनुपर्ने थियो।

नेपालले ३९ ओभरमा सात विकेट गुमाएर २१८ रन बनाएको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले अर्धशतक प्रहार गरे।

गुल्सनले सर्वाधिक ६१ रन बनाए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै, दीपेन्द्रले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतले ५५ रन बनाए। उनले ४३ बलमा ५ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। ओडीआईमा दीपेन्द्रको यो आठौँ अर्धशतक हो।

कप्तान रोहित पौडेलले ३२ रन बनाए। ओपनर आशिफ शेखले २१, करण केसीले १८, विनोद भण्डारीले १० र आरिफ शेखले ३ रन बनाउँदा अर्जुन कुमाल शून्यमा नै पेभेलियन फर्के।


प्रतिकृया दिनुहोस्