
२२ बैशाख, काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएई सम्मिलित सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ । यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलको टिकट मूल्य ४०० रुपैयाँ बाट घटाएर २०० रुपैयाँ कायम गरेको छ ।
जारी प्रतियोगितामा घरेलु टोली नेपालले यूएईलाई दुई पटक नै हराउँदा ओमानसँग भने एक खेलमा पराजित भएको थियो।
तसर्थ ओमानलाई हराएर बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । यसअघिको खेलमा नेपालले १०२ रनको रनको फराकिलो हार ब्यहोरेको थियो ।
नेपालले यसअघिको खेलमा ओपनिङमा नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई विश्राम दिँदै अर्जुन कुमाल र विनोद भण्डारीलाई उतारेको थियो । यो खेलबाटै कुमालले सिनियर टोलीमा डेब्यु समेत गरेका थिए भने भण्डारीले लामो समयपछि कमब्याक गरेका थिए ।
यद्यपि, कुमालले खासै सन्तोषजनक रन बनाउन सकेनन् । उनले २२ बलमा ११ रन बनाउँदा भण्डारीले भने ७९ बलमा ५६ रन जोडेका थिए ।
आजको खेलमा यी दुई ओपनरलाई नै उतार्नेछ या भुर्तेल–शेखको जोडी पुनः उत्रिनेछन् भन्नेमा टसपछि मात्र थाहा हुनेछ।
लिग २ मा २७ खेलमा १४ जित र १० हारको नतिजा निकालेको ओमान ३१ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ भने अर्कोतर्फ नेपाल २३ खेलमा ७ जित र १४ हारसँगै १६ अंकका साथ सातौं स्थानमा छ । नेपालपछि यूएई २४ खेलबाट १४ अंकका साथ पुछारमा छ।
१२ मे देखि नेपाल, स्कटल्याण्ड र अमेरिकाबीचको सिरिज टियु मैदानमै सुरु हुनेछ ।













