Skip

Hamro Sanchar

कुशलको शान्दार ब्याटिङमा यूएईमाथि नेपालको जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


९ बैशाख, काठमाडौं । कुशल भूर्तेलको आक्रामक ब्याटिङमा नेपालले दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यूएईलाई ८ विकेटले पराजित गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा घरेलु टोली नेपालले यूएईलाई ८ विकेटले हराएको हो ।

नेपालको यो जितसँगै दुई खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले हराएको थियो ।

त्रिवि मैदानमा यूएईले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले ।

त्यस्तै कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए । यूएईका निलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाएका थिए ।

नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए ।


प्रतिकृया दिनुहोस्