
१९ चैत, काठमाडौं । एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधन पार्टीको मूल्य मान्यताविपरीत भएको ठहर गर्दै उक्त धारणा सच्याएको छ ।
पार्टी सचिवालयले आज बादलको उक्त अभिव्यक्तिबारे करिब ६ घण्टा लामो समीक्षा गरेको थियो । उक्त समीक्षापछि बैठकले एमालेको नेपाली सेना प्रहरी, कर्मचारी, अन्तर्राष्ट्रिय निकाय लगायतसँग मित्रवत् सम्बन्ध रहेको भन्दै स्पष्ट पारेको छ ।
महासचिव शंकर पोखरेलले नै बैठकपछि विज्ञप्ति जारी गर्दै बादलको उक्त धारणालाई करेक्सन गरेका छन् । बादलले संसदमा प्रधानमन्त्रीलाई बधाई दिने शैली पनि व्यंग्यात्मक थियो । त्यस्तै जनताले दिएको मतलाई पनि उनले अपमान गर्ने गरी षड्यन्त्रको कोणबाट बोलेका थिए ।
बादलले भनेका ती सबै कुराहरू एमालेले लोकतान्त्रिक प्रणालीका लागि अपनाएका मुलभूल एजेन्डाको प्रतिकूल रहेको बैठकको ठहर थियो ।
एमालेको आजको बैठकमा सचिवालयका अधिकांश नेताले उनको अभिव्यक्ति ठीक नभएको भन्दै यसलाई पार्टीको नीति अनुसार स्पष्ट पार्नुपर्ने नेताहरूले बताएका थिए ।
शुक्रबारको बैठक कार्यवाहक अध्यक्षको रूपमा उनले नै अध्यक्षता गरेका थिए । तर, अरु नेताहरूले प्रश्न गरेपछि उनले हिजोको बैठकमा आफूले अलि भावुक पनि भएको भन्दै आफ्ना अभिव्यक्तिको रक्षा पनि गरेका थिए ।
प्रतिनिधिसभाको पहिलो बैठकमा बादलले ६ मिनेट १७ सेकेन्ड बोलेका थिए । त्यसक्रमा निर्वाचन परिणामप्रति नै शंका व्यक्त गरेका थिए ।
अदृष्य विदेशी शक्तिहरूले रास्वपालाई जादुमय जित दिलाउने भूमिका खेलेको बादलको निष्कर्ष थियो ।
उनले यस्तो धारणा राखेपछि केही नेताहरूले बिहीबार नै बादलको सार्वजनिक आलोचना गरेका थिए । त्यसपछि त्यही विषयमा समीक्षा गर्न शुक्रबार सचिवालय बैठक बोलाइएको थियो ।
बादलले जुन जुन विषयमा विवादित कुरा बोलेका थिए एमालेको सचिवालय बैठकले ती विषयमा स्पष्ट उल्लेख गर्दै सम्बन्धित निकायहरूसँग पार्टीको पूर्ववत् सम्बन्ध रहेको उल्लेख गरेको छ ।
एमालले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि छुट्टै बधाई पनि दिएको छ ।
बैठकले एमालेले संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा पार्टीको कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको दाबी गरेको छ ।
शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले यसबारे सार्वजनिक टिप्पणी नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकले उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको निर्देशन, नियन्त्रण एवं हस्तक्षेप भएको थिएन भन्ने कुरा प्रष्ट पारेको छ ।
साथै, उनले संसदीय दल नेताको निर्वाचनका सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि बताए ।
एमालेले संसदीय दलको नेतामा रामबहादुर थापालाई निर्विरोध निर्वाचित गरेको थियो । एमालेका युवा सांसद सुहाङ नेम्वाङले पनि उम्मेदवारी दिन तयारी गरेका थिए ।
यद्यपि समर्थक र प्रस्तावक नै नपाएपछि उनले अन्तिम समयमा उम्मेदवारी दर्ता गर्न पाएएका थिएनन् ।
सो विषयमा एमालेकै युवा पंक्तिले आपत्ति जनाउँदै आएको थियो । बैठकले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।













