Hamro Sanchar

साफ वुमन्स च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २ गते


Advertisement

काठमाडौं । गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।

तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ ।

आजै समूह बी को पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दशरथ रंगशालामै दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो खेलको नतिजा महत्वपूर्ण हुनेछ । किनकी यस खेलको नतिजाबाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ ।


प्रतिकृया दिनुहोस्