काठमाडौं, जेठ २३- आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको छ । अमेरिकाको टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा गएराति नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेकाे हाे ।
नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए ।
साइब्रड एन्गेलब्रेचलाई सोमपाल कामीले १४ रनमा आउट रनआउट गर्दा अभिनास बोहराले कप्तान स्कट इडवार्डलाई ५ रनमा बोल्ड गरे ।
खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओडाउडको क्याच मिस गरेका थिए । त्यतिबेला उनी ४१ रन बनाएर खेलिरहेका थिए ।
बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १–१ विकेट लिए ।