Skip

Hamro Sanchar

कागेश्वरीका गाइभैसीलाई आजदेखि लम्पी स्किनविरुद्धको खोप दिँइदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १९ गते


काठमाडौं, असार १९- देशभरी नै पशुहरुमा लम्पी स्किन रोग फैैलिरहेको छ । जसका कारण धेरै संख्यामा पशु चौपाया मरेका छन् भने संक्रमण फैलिदो अवस्थामा छ । देशैभर संक्रमण फैलिरहँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्रका गाई भैंसीमा पनि यो रोगको संक्रमण देखा परेको छ । यसको रोकथामका लागि नगरपालिकाले मंगलबारदेखि उक्त रोगविरुद्ध खोप अभियान चलाएको छ ।

नगरपालिकाले ९ वटै वडाको अनुगमन गरी पशु प्राविधिकहरुबाट खोप अभियानको शुरुवात गरेको छ ।

नगरपालिकाको पशु सेवा शाखा गागलफेदीले मंगलबार एक सूचना जारी गर्दै वडा कार्यालय अन्तर्गतका कृषकहरुलाई आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरि खोप कार्यमा संलग्न प्राविधिकहरुलाई सहजीकरण गरि आफ्ना गाइ भैसीहरुलाई खोप लगाउन अनुरोध गरेको छ ।

उपचारपछि संक्रमित पशुहरु समेत निको हुने सन्देश नागरिकमा प्रवाह गर्न अभियान चलाइएको पशु अधिकृत कृष्ण प्रसाद बन्जाडेले बताए ।

पशुमा लाग्ने सामान्य रोगका लागि पनि महंगो पैसामा औषधि किन्नुपर्ने बाध्यता किसानहरुमा रहँदै आएको छ । नगरपालिकाको यो अभियानले किसानहरुलाई राहत मिलेको नगरपालिकाले जनाएको छ । सबै कृषकहरुलाई नगरसँग सहज पहुच पुर्याउन नगरले प्रत्येक वर्ष वजेट छुट्याउने र आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने जनाएको छ ।

लम्पी स्किन रोगका कारण पशुहरु धमाधम मर्न थालेपछि ब्यवसायिक किसानहरु पेशाबाट पलायन हुने चिन्तामा रहेका बेला नगरपालिकाको अभियानले राहत मिलेको छ ।

नगरपालिकाले चलाएको अभियानले स्थानीय कृषकहरु खुसी भएका छन् ।


प्रतिकृया दिनुहोस्