
दोलखा, असार १९- दोलखाको मेलुङ गाउपालिका वडा नम्बर १ पवटीस्थित स्वास्थ्य चौकी नयाँ भवनमा सरेको छ । साविक पवटी गाविस वडा नम्बर ४ स्थित रमाईलो चोकमा ३१ बर्षदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य चौकी साविक पवटी ८ स्थित दुबिनी डाँडामा शुक्रबार सरेको हो ।
नवनिर्मित भवन यसअघि संचालन हुँदै आएको स्थानबाट करिव १ किलोमिटरको दुरीमा पर्दछ । भवनको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
एसियाली विकास बैङ्कको २ करोड ५० लाख सहयोगमा सात कोठे नयाँ भवन निर्माण गरिएको वडाअध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ईश्वर कोइरालाले जानकारी दिए । भवन निर्माणका लागि स्थानीय कृष्ण प्रसाद कोइरालाले झण्डै ३ रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए ।
२०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षती पुर्याएपछि स्वास्थ्य चौकी प्रिफ्याब भवनबाट सञ्चालन हुँदै आएको थियो ।


















