
काठमाडौं, असार १८- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित वडा नम्बर ६ बाबाचोकस्थित मुलपानी नगर अस्पतालमा निशुल्क वाटर एटिएम जडान गरिएको छ । अस्पतालमा सहज तरिकाले सुरक्षित खानेपानी उपलब्ध गराउने उदेश्यले एटिएम मेसिन जडान गरिएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।
अस्पतालमा उपचारका लागि बिरामी, सेवाग्राहीका साथै स्वास्थ्यकर्मीका लागि स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि नगरपालिकाले वाटर एटिएम जडान गरेको हो ।
नगरप्रमुख कार्कीले अस्पतालमा वाटर एटिएम जडान भएपछि बोतलको पानी किनेर पिउनुपर्ने बाध्यता हट्ने र जथाभावी फाल्ने गरिएका बोतलका कारण पर्नसक्ने वातावरणीय समस्याको समेत निराकरण हुने बताए । साथै वाटर एटिएमको माध्यमबाट अस्पतालमा उपचारका लागि आउने जनसाधारणसम्म स्वच्छ पानीको पहुँच पुग्ने उनको विश्वास छ ।
उक्त मेसिनबाट चिसो र सामान्य दुवै किसिमको निशुल्क पानी उपलब्ध हुनेछ । १ घण्टामा २०० लिटर पानी उपलब्ध गराउने मेसिनको क्षमता छ ।
अस्पतालले डेड महिनादेखि ८ वेडको क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष संचालनमा गरेको हो । अस्पतालको आकस्मिक कक्षमा दैनिक २० जनाभन्दा बढी र ओपीडीमा दैनिक एक सयको हाराहारीमा बिरामीले सेवा लिइरहेका छन् ।
अस्पतालमा अब हाइ केयर युनिट, अपरेसन थियटर, प्री अपरेटिभ वार्ड र पोष्ट अपरेटिभ वार्ड संचालन गर्ने तयारी छ ।



















