Hamro Sanchar

सन्दीप लामिछानेको मुद्दामा आजपनि हुन सकेन सुनुवाई, अदालतले फेरी दियो यस्तो आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ७ गते


काठमाडौं, जेठ ७- जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ ।

न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

लामिछाने पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेरवाली नाबालिग नरहेको दाबी गर्दै आएको छ । उनीहरूले जाहेरवालाको नागरिकताको प्रमाणपत्रमा रहेको जन्ममिति (२०६२ जेठ १८) गलत रहेको जिकिर गरिरहेका छन् ।

लामिछानेका कानुन व्यवसायीले जाहेरवालाको जन्मदर्ता र विद्यालय प्रमाणपत्रहरू पेस गर्दै पीडितको जन्म मिति २०६१ असार १८ गते रहेको दाबी गरेका थिए । जसअनुसार पीडितको उमेर घटना हुँदाको समय (२०७९ भदौ ५) मा १८ वर्ष पुगिसकेको देखिन्छ ।

जाहेरवालाको पक्षले भने लामिछानेका कानुन व्यवसायीले पेस गरेको जन्म मितिको प्रमाणलाई अस्वीकार गर्दै आएका छन् ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।


प्रतिकृया दिनुहोस्