काठमाडौं, बैशाख १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका १५ वटा सामुदायिक विद्यालयलाई तत्काल स्थायी प्रधानाध्यापक नियुक्तिको प्रकृया अगाडि बढाउन पत्र पठाएको छ ।
नगर शिक्षा समितिको गत बैशाख ४ गतेको बैठकले शुक्रबार (बैशाख १५ गते)सम्म स्थायी प्रधानाध्यापक नियुक्ति गर्न निर्देशनसहितको पत्र पठाइएको शिक्षा शाखा अधिकृत विमल प्रसाद निरौलाले हाम्रोसंचारलाई जानकारी दिए ।
नगरपालिकाभित्र १६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । तर हाल भद्रवासको आदर्श मा.वि. बाहेक १५ वटा सामुदायिक विद्यालयमा लामो समयदेखि निमित्त प्रधानाध्यापकले कार्य गरिरहेका छन् ।
यसअघि भद्रवासको आदर्श मा.वि. मा प्रचलित सङ्घीय शिक्षा ऐन, नियमावली तथा नगरपालिकाको शिक्षा ऐनले गरेको व्यवस्था अनुसार प्रधानाध्यापक नियुक्त गरिसकेको शिक्षा शाखाले जनाएको छ ।
लामो समयसम्म निमित्त प्रधानाध्यापकले कार्य गरिरहेको र नगरको समग्र शैक्षिक गुणस्तर सुधारका लागि बैशाख १५ गतेसम्म स्थायी प्रधानाध्यापक नियुक्ति गर्न निर्देशन दिइएको शिक्षा शाखा प्रमुख निरौलाको भनाइ छ ।
नगरपालिकाले वडा नम्बर ७ को आनन्द भैरव मा.वि., वडा नम्बर ५ को कान्ति भैरव मा.वि., वडा नम्बर १ को गागलफेदी हर्ष मा.वि., वडा नम्बर ९ को गान्दी आदर्श मा.वि., वडा नम्बर ४ को चम्पक विनायक आ.वि., वडा नम्बर ४ को चलन्टार आ.वि., वडा नम्बर ४ को चौलनारायण आ.वि., वडा नम्बर ८ को तेज बिनायक मा.वि., वडा नम्बर २ को नाथेश्वरी आ.वि., वडा नम्बर ६ को नेपाल राष्ट्रिय निर्माण मा.वि., वडा नम्बर १ को बाल उद्धार मा.वि., वडा नम्बर १ को मणिलिङ्गेश्वर आ.वि., वडा नम्बर ८ को बाल राष्ट्रिय आ.वि., वडा नम्बर २ को बाल विकास मा.वि. र वडा नम्बर १ को सिद्धि गणेश मा.वि.सहित १५ वटा विद्यालयलाई तत्काल स्थायी प्रधानाध्यापक नियुक्ति गर्न निर्देशन दिएको हो ।