काठमाडौं, भदौ १६- सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज बिहीबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् ।
भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् ।
यस पर्वमा व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक पूजा गर्ने र ब्राह्मणलाई दानदक्षिणा दिनुका साथै कर्कलाको तरकारी बनाई एकछाक खाने गर्छन् ।
सप्तर्षि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पवित्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने धार्मिक विश्वास छ ।
ऋषिपञ्चमी पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।
आज काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।