काठमाडौं, साउन ३- नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा नयाँ दर लागू भएको छ । सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आइतबारदेखि लागू हुने गरी १० प्रतिशत नयाँ महसुल दर कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ ।
त्यसैगरी समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएका छन् । यसअनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ ।
सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले कम्पनीको तोकिएको मापदण्ड पूरा गर्नुपर्छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।