काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेताहरूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन्।
शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो घर, कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुर्ख्यौली घरसमेत जलाइएको बताए।
अन्य दलका नेताहरूका घरमा आक्रमण नभएको उल्लेख गर्दै देउवाले कांग्रेस र एमालेलाई मात्रै छानीछानी निशाना बनाइनु सामान्य घटना नभई षड्यन्त्र भएको दाबी गरे।
उनले प्रजातन्त्रका लागि आफूले साढे आठदेखि नौ वर्ष जेल जीवन बिताएको स्मरण गर्दै पुराना नेताहरूको योगदान र त्यागलाई नबिर्सन आग्रह गरे।

























