२९ कार्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर ५ गतेका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।
पार्टीको राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेलापछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्यांक्वेटमा राष्ट्रिय भेला आयोजना हुनेछ।
भेलामा देशभरबाट करिब ३ हजार १०० जना सहभागी हुनेछन्। महासचिव शंकर पोखरेलका अनुसार उक्त भेला मुख्यतः आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनेछ।
त्यस्तै, मंसिर ४ गते एमालेबाट २०७८ सालमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।
बिहान ११ बजेदेखि सुरु हुने उक्त भेलापछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्नेछ।
यसअघि असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले पार्टीभित्रको आन्तरिक विवादलाई राष्ट्रिय भेलामार्फत समाधान खोज्ने निर्णय गरेको थियो।

























