२९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिने बताएका छन्।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धा नेपाली समाजको प्राचीन आध्यात्मिक परम्परासँग जोडिएको उल्लेख गरेका छन्।
उनले छठ पर्वको सम्बन्ध वैदिक परम्परासँग रहेको बताउँदै ऋग्वेदमा उषा देवीको स्तुति गरिएको प्रसङ्गसमेत स्मरण गरेका छन्।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर गरिने आराधनाले जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनको भनाइ छ।
छठ पर्वले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा, सुख, शान्ति, समृद्धि र आरोग्य ल्याओस् भन्दै थापाले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

























