२५ असाेज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्।
बाढीमा परी ५ जना बेपत्ता भएको सूचना प्राप्त भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताएका छन्।
बालेनले सामाजिक सञ्जाल फेसबुकमा दिएको जानकारीअनुसार बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।
बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उनले उल्लेख गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएस पठाएको बालेनले जानकारी दिएका छन्। त्यस्तै, गोरखा, धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुईपटक गरी करिब दुई लाख एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना पठाइएको उनले बताएका छन्।
उनका अनुसार प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ।
उद्धारका लागि नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी कुल ४३७ सुरक्षाकर्मी परिचालन गरिएको बालेनले जानकारी दिएका छन्। उद्धार कार्यमा नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रयोग गरिएको छ।
बाढी आउनुको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोन लिएर प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले बताएका छन्। थप उद्धारका लागि नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोली तयारी अवस्थामा राखिएको पनि उनले उल्लेख गरेका छन्।
बालेनका अनुसार विपद् प्रतिकार्य कमाण्ड पोष्टमार्फत बाढीको निरन्तर अनुगमन, अवस्थाको विश्लेषण, सूचना सम्प्रेषण तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ।
क्षतिग्रस्त सडक सञ्चालन तथा बेलिब्रिज जडानको सम्भाव्यता अध्ययन गर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली परिचालन गरिएको उनले जानकारी दिएका छन्। आरुघाटमा बेलिब्रिज जडानको तयारीसमेत सुरु भएको छ।
त्यस्तै, गोरखा, लमजुङ र तनहुँका द्रुत प्रतिकार्य टोली तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई निर्देशन दिइएको पनि बालेनले उल्लेख गरेका छन्।
बाढीबाट प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तथा क्षतिग्रस्त भौतिक संरचना पुनः सञ्चालनमा ल्याउन आवश्यक कदम अघि बढाइएको जानकारी दिँदै उनले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।































