Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रहरीलाई प्रधानमन्त्री बालेनको निर्देशन : ‘दबाब र प्रभावमा नपरी काम गर्नुहोस्’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीका नवदीक्षित प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफलताको शुभकामना दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन्।

प्रहरीले संविधान, प्रचलित कानुन, नियम तथा कार्यविधिको पालना गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्नुपर्ने बताए।

व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन र संगठनको प्रोटोकलविपरीत काम नगर्न पनि उनले प्रहरी अधिकृतहरूलाई सचेत गराए।

देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको रहेको उल्लेख गर्दै उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे।

प्रधानमन्त्री शाहले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति पनि परिवर्तन भइरहेको भन्दै अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको सही प्रयोग आवश्यक रहेको बताए।

प्रहरी अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन तथा प्रहरी संगठनप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नवदीक्षित प्रहरी अधिकृतहरूको कार्यसफलताको कामना गर्दै उनीहरूलाई यो चुनौतीपूर्ण पेसामा आबद्ध हुन प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गरेका छन् ।

साथै, दीक्षान्त समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिए।


प्रतिकृया दिनुहोस्