Skip

Hamro Sanchar

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : रूसी तेल पूर्वाधारमा आक्रमण नगर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २९ गते


Advertisement

२९ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसको तेल पूर्वाधारमा आक्रमण नगर्न आग्रह गरेका छन्।

आइतबार आयरल्यान्डको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसमा डिजेल इन्धन उत्पादन र आपूर्तिसँग सम्बन्धित पूर्वाधारमा आक्रमण रोक्न आग्रह गरेको बताएका हुन्।

युक्रेनले रूसका तेल प्रशोधन केन्द्र तथा ऊर्जा पूर्वाधारमा गर्दै आएको ड्रोन आक्रमणका कारण इन्धनको अभाव बढेको भन्दै ट्रम्पले यस्तो आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

‘जेलेन्स्कीले एउटा काम गर्नुपर्छ—रूसमा डिजेल इन्धन उत्पादनलाई निशाना बनाउन बन्द गर्नुपर्छ,’ ट्रम्पले पत्रकारहरूसँग भने।

यसबारेमा आफूले जेलेन्स्कीसँग पनि कुरा गरेको उनले बताए।

जेलेन्स्कीसँग पनि यो बारेमा कुरा गरेको छु। रूमा अन्य धेरै ठाउँ छन्। डिजेललाई निशाना नबनाऊ। यसले विश्वलाई असर गरिरहेको छ भनेको छु, उनले भने।

रूस र युक्रेनबीच लामो समयदेखि जारी युद्धमा पछिल्ला महिनाहरूमा दुवै पक्षले एकअर्काका ऊर्जा तथा इन्धन पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन्।

युक्रेनले पछिल्ला महिनाहरूमा लामो दूरीका ड्रोनमार्फत रूसका तेल प्रशोधन केन्द्रमा लगातार आक्रमण गर्दै आएको छ।

ती आक्रमणका कारण रूसको इन्धन उत्पादन घट्दा देशका विभिन्न क्षेत्रमा पेट्रोल अभावसमेत देखिएको रोयटर्सले जनाएको छ।

युक्रेनले भने रूसका तेल प्रशोधन केन्द्रहरू सैन्य प्रयोजनमा प्रयोग हुने भएकाले ती वैध सैन्य लक्ष्य भएको बताउँदै आएको छ।

उता, रूसले पनि युक्रेनका ऊर्जा पूर्वाधारलाई नियमित रूपमा निशाना बनाउँदै आएको छ।

ट्रम्पले अहिले देखिएको विश्वव्यापी इन्धन अभावको कारण मध्यपूर्वको घटनाक्रम मात्रै नभएको बताए।

‘यो मध्यपूर्वको तनावका मात्रै होइन, रूस र युक्रेनमा भइरहेको घटनाक्रमले भएको हो,’ उनले भने।

अमेरिकामा पनि डिजेलको मूल्य बढिरहेको छ। मूल्य ट्र्याकर ग्यासबडीका अनुसार बिहीबार अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको थियो।

ट्रक, रेल, पानीजहाज तथा कृषि उपकरणमा समेत डिजेल प्रयोग हुने भएकाले यसको मूल्य वृद्धिले व्यापक प्रभाव पार्न सक्छ।

युद्धको प्रभावका कारण रूसले यस वर्षको तेल उत्पादनसम्बन्धी अनुमान पनि घटाएको छ।

रोयटर्सले प्राप्त गरेको रूसी सरकारको मस्यौदा पूर्वानुमानअनुसार यस वर्ष रूसको तेल उत्पादन १७ वर्षयताकै न्यून स्तरमा पुग्ने अनुमान गरिएको छ।

साथै, रूसले सन् २०२६ र २०२७ का लागि इन्धन निर्यातसम्बन्धी आफ्नो पूर्वानुमानसमेत संशोधन गरेको छ।


प्रतिकृया दिनुहोस्