१५ भदौ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
१० भदौमा बिहान रसुवा जिल्ला हुँदै बग्ने भोटेकोसी नदीमा अचानक गेग्रानसहित आएको बाढीका कारण भोटेकोसी र त्रिशूली नदी किनारका साथै अन्य क्षेत्रका नागरिक प्रभावित भएका छन् ।
बैंकले उक्त अप्रत्याशित घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । घटनाले बैंक तथा बैंक परिवारलाई समेत अत्यन्तै मर्माहत बनाएको जनाएको छ ।
बैंकले दुःखद् घडीमा प्रभावित सबैलाई धैर्य धारण गर्न आग्रह गर्दै आवश्यक सहयोग तथा उद्धार कार्यमा जुट्न सम्बन्धित सबैमा अपिल गरेको छ ।































