११ भदौ, काठमाडौं । नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा किंग्समेन एकेडेमीसँग ३१ रनको हार व्यहोरेको छ ।
यो हारसँगै नेपालको सेमिफाइनल सम्भावना लगभग समाप्त भएको छ । तेस्रो हार व्यहोरेको नेपालले पाँच खेलबाट चार अंकका साथ सातौँ स्थानमा छ ।
जित निकालेको किंग्समेनको सामान खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा किंग्समेनले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याएको नेपाल १९।२ ओभरमा १६६ रनमै समेटियो ।
नेपालका कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान गरे । उनले ४६ बलमा ६ चौका र चार छक्का प्रहार गरे ।
लोकश बमले ३८, नारायण जोशीले १२, रासिद खान र कप्तान अनिलकुमार साहले ११–११ तथा विपीन खत्रीले १० रन बनाए ।
किंग्समेनका स्कट कुगेलाइन र उस्मान मिरले तीन–तीन, अली शेखले दुई तथा उमर खान र कप्तान हम्माद अजामले एक–एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको किंग्समेनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९७ रनको योगफल तयार पारेको थियो ।
किंग्समेनका सेहन जयसूर्याले सर्वाधिक ६७ रनको योगदान गरे । उनले ४४ बलमा पाँच छक्का र चार चौका प्रहार गरे ।
सेहन जहान्गिरले २७, हम्माद अजामले अविजित २६, मिलिन्द कुमारले २५, तैयब आरिफले २३ र अली शेखले २२ रन बनाए ।
नेपालका नारायण जोशीले दुई तथा रासिद खान, पवन सराफ र कुशल भुर्तेलले एक–एक विकेट लिए ।































