Skip

Hamro Sanchar

पिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, काठमाडौं । आगामी अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरिएको छ ।

मंगलबार एक कार्यक्रम आयोजना गरेर पिकलबल एसोसिएसन नेपालले विश्वकपमा १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षभन्दा माथिको सिनियर क्याटेगोरी खेल्ने खेलाडी घोषणा गरेको हो ।

नेपालको सिनियर टोलीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन् । ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी ९कप्तान०, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा। दिक्ष्या राना, सञ्जील कन्साकार र किरण खनाल छन् ।

नेपालले विश्वका विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पिकलबलमा आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाउने लक्ष्य राखेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख अमेरिकी डलर रहेको छ ।

पिकलबल र्‍याकेट खेल हो, जुन टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रणजस्तै देखिन्छ । यस खेलमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ र टेनिसको तुलनामा सानो कोर्टमा नेट राखेर खेलिन्छ । पिकलबल एकल वा दुई–दुई जनाको टोली बनाएर खेल्न सकिन्छ ।

नियम तुलनात्मक रूपमा सरल र खेल्न सजिलो भएकाले यो खेल विशेषगरी अमेरिका हुँदै पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको छ । शारीरिक सक्रियता, मनोरञ्जन र सामाजिक सहभागिताका लागि पनि पिकलबललाई उपयुक्त खेल मानिन्छ ।


प्रतिकृया दिनुहोस्