९ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ।
आज उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो।
काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।नाडाका अध्यक्ष उपेन्द्र उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष उप्रेतीले सवारी साधन अब विलासिताको वस्तु मात्र नभएर नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताए।अध्यक्ष उप्रेतीले काठमाडौँमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको गुनासो गरे ।
भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
व्यवसायमा दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अपरिहार्य रहेको उप्रेतीको भनाइ थियो।
करका दर र नीतिहरूमा पटक-पटक हुने परिवर्तनले व्यवसायीलाई योजना बनाउन कठिन हुन्छ, उनले भने, सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ, जसले लगानीमैत्री वातावरण सिर्जना गर्नेछ।





























