२३ साउन, काठमाडौँ । बक्सिङ टोलीले २०औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ।
यसका लागि सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ।
जापानको आइचीरनागोयामा आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा चार पुरुष र तीन महिला मुक्केवाजले नेपालको चुनौती पेस गर्नेछन्। पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुनेछन्।
खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया ९साइ० अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासङ्घका सचिव पुष्करराज पन्तले जानकारी दिए। उनका अनुसार टोली त्यतैबाट जापान जानेछ।
रविनबाहेक सबैको पहिलो एसियाड सहभागिता हो। रविनले १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए। चन्द्र सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य पदक विजेता पनि हुन्। चन्द्रको कास्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठूलो हो। प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन्। व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी रहेका छन्। भण्डारी केहीसमय पछि भारत जानेछन्।
एसियाली खेलकुदमा समग्रमा बक्सिङले तीन फरक संस्करणमा हालसम्म ६ कास्य पदक जितेको छ। बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १०औँ संस्करणमा पहिलोपटक पदक जितेको थियो। त्यसबेला दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कास्य पदक जितेका थिए। बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो।
सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ संस्करणमा चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६औँ एसियाडमा हालका टोलीका प्रशिक्षकमध्येका दीपकले नेपाललाई कास्य पदक दिलाएका थिए। दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ संस्करणदेखि बक्सिङ पदकविहीन छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज आयोजित एक कार्यक्रमका बीचमा बिदाइ गरे ।































