Skip

Hamro Sanchar

करातेकी एरिका र क्रिकेटर दीपेन्द्र वर्ष खेलाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


१९ साउन, काठमाडौँ । करातेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसिंह ऐरी वर्ष खेलाडी भएका छन् ।

हाम्रो खेलकुद डटकमले मंगलबार आफ्नो‌ ११ औं वार्षिकोत्सवको अवसरमा एरिका र दीपेन्द्रलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गर्दै सम्मानित गरेको हो ।

सन् २०२२ को सेप्टेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी एरिकाले करिब चार वर्षको अवधिमै नेपाली करातेलाई उचाइमा पुर्‍याएकी छन् । एरिकाले खेलेका १८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट २१ पदक जितेकी छन् । उनले १३ स्वर्ण, ६ रजत र २ कांस्य पदक नेपाललाई दिलाएकी छन् ।

उनीसँग १९ औं एसियाड, २० औं सिनियर एसियन कराते च्याम्पियनसिप, प्रिमियर लिग, डब्लूकेएफ कराते वान सिरिजजस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी थिइन् ।

त्यस्तै, ट्वान्टी–२० टोलीका कप्तान दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ क्रिकेटका तीनै विधामा उस्तै प्रभाव छाड्न सक्ने दुर्लभ खेलाडी हुन् । आईसीसी टी–२० विश्वकपमा पनि नेपालका सबैभन्दा प्रभावशाली खेलाडी बनेका थिए । लगातार दुई अर्धशतक बनाएका उनले पछिल्ला टी–२० अन्तर्राष्ट्रियका १५ खेलमा १३३ को स्ट्राइक रेट र ३९।७० को औसतमा ३ सय ९७ रन बनाएका छन् । त्यसमा तीन अर्धशतक समावेश छ । बलिङतर्फ १० विकेट लिएर उनले आफ्नो अलराउन्ड प्रदर्शन दिएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि दीपेन्द्र प्रदर्शन प्रभावशाली रह्यो । पछिल्ला १५ खेलमा ४१ भन्दा बढीको औसतमा ६१९ रन बनाएका छन् । एक शतक र ५ अर्धशतक बनाएका दीपेन्द्रले १६ विकेट पनि लिएका छन् । दुवैलाई जनही २५ हजारसहित सम्मानित गरिएको हो ।


प्रतिकृया दिनुहोस्