Skip

Hamro Sanchar

४ वर्षभित्रै विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागवण्डा अन्त्य गर्छु : शिक्षामन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ७ गते


७ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा कायम रहेको राजनीतीकरण पूर्ण रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् ।

आज त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले आउँदो ४ वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने घोषणा गरेका हुन् ।

साथै विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धतासमेत मन्त्री पोखरेलले गरेका छन् ।

अबका दिनमा राजनीतिक भागवण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा विश्वविद्यालयको टिम निर्माण हुने उनको भनाइ छ।

विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा पनि राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य गर्ने उल्लेख गरे।

मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे ।

आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने विश्वाससमेत मन्त्री पोखरेलले व्यक्त गरे ।

 


प्रतिकृया दिनुहोस्