
काठमाडौं, असार २५- सामुदायिक क्याम्पस सङ्घको ३६औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सङ्घका अध्यक्ष श्री शत्रुघ्नप्रसाद गुप्ताको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यमा बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिद्वय प्रा. डा. दीपक अर्याल र प्रा. डा. तीर्थराज खनिया, विश्वविद्यालय अनुदान आयोगका निमित्त सदस्य-सचिव डा. केदार आचार्य, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेल लगायत उच्च शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी, सङ्घका निवर्तमान अध्यक्ष, सल्लाहकारहरू, केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, सञ्चालक समितिका अध्यक्षहरू, क्याम्पस प्रमुखहरू, सभापतिहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति ।
उत्कृष्ट विद्यार्थी तथा क्याम्पस सम्मान
वार्षिकोत्सवको अवसरमा त्रिभुवन विश्वविद्यालयको वि.सं. २०८१ (सन् २०२४) को स्नातक तहको परीक्षाफलका आधारमा सामुदायिक क्याम्पसहरूबाट सर्वाधिक अंक प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार, सम्मानपत्र तथा सम्बन्धित क्याम्पसलाई सम्मान प्रदान गरिएको थियो।
सम्मानित विद्यार्थीहरू यसप्रकार छन्–
- व्यवस्थापन संकाय: श्री सुशील पोखरेल – मकवानपुर बहुमुखी क्याम्पस
- मानविकी तथा सामाजिक शास्त्र संकाय: सुश्री सञ्जिता रेग्मी – मदन भण्डारी मेमोरियल कलेज
- शिक्षाशास्त्र संकाय: सुश्री जेबिका सापकोटा – सुकुना बहुमुखी क्याम्पस
- विज्ञान तथा प्रविधि संकाय: सुश्री रोहिणी विश्वास मण्डल – ख्वप कलेज
विशिष्ट सम्मान
सोही अवसरमा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापालाई पदभार ग्रहणको अवसरमा बधाई तथा सम्मान अर्पण गरिएको थियो। साथै, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिद्वय प्रा. डा. दीपक अर्याल र प्रा. डा. तीर्थराज खनियालाई नेपालको उच्च शिक्षाको विकास, विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा पुर्याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।
कार्यक्रमले सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, उत्कृष्ट विद्यार्थीहरूको हौसला वृद्धि तथा उच्च शिक्षाको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानमार्फत शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।













































