Skip

Hamro Sanchar

अब सरुवा हुनलाई शिक्षकले एक विद्यालयमा ३ वर्ष पढाउनै पर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २२ गते


२२ असार, काठमाडौं । अबदेखि सरुवा हुनलाई शिक्षकले एक विद्यालयमा ३ वर्ष पढाउनै पर्ने भएको छ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले शुक्रबार पारित गरेको संशोधित शिक्षा नियमावलीमा शिक्षकहरूले एक विद्यालयमा कम्तीमा ३ वर्ष स्थायी सेवा पूरा नगरी सरुवा हुन नपाउने भएका हुन् ।

स्थायी शिक्षक नियुक्ति हुनेबित्तिकै घर पायक वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको हो।

‘सरुवा गर्दा आधारभूत तहको कक्षागत शिक्षकलाई समान तहमा र विषयगत शिक्षकलाई सम्बन्धित विषयको रिक्त पदमा मात्र सरुवा गरिनेछ,’ संशोधित नियमावलीमा भनिएको छ ।

शिक्षक सरुवाका लागि यसअघि रिक्त रहेको दरबन्दी लुकाउने र आफूअनुकूल शिक्षक सरुवाका लागि चलखेल हुने गरेको आरोप थियो । सरुवाका लागि विद्यालय, व्यवस्थापन समिति, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलगायत विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था थियो ।

अब शिक्षक पद रिक्त भए ७ दिनभित्र स्थानीय तहलाई र केन्द्र सरकारको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ९आईईएमआईएस० मा जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

शिक्षक सरुवाका लागि अनलाइन वा सार्वजनिक सूचनामार्फत आवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले रिक्त दरबन्दी पारदर्शी हुने र सरुवामा स्वस्थ प्रतिस्पर्धा बढ्ने विश्वास गरिएको छ ।


प्रतिकृया दिनुहोस्