Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यी हुन् कर्णालीमा खसेको गाडीमा सवार ५ जना यात्रु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २० गते


Advertisement

२० असार, काठमाडौँ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँचजना सवार रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

प्रहरीले घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवा सवार रहेको जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन् । आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको थियो ।

कर्णाली नदीको तीव्र बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा पाँचजनाभन्दा बढी यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । सम्बन्धित निकायसँग समन्वय गरी यथार्थ विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


प्रतिकृया दिनुहोस्