
१५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निराशाबाट राजनीतिक लाभ लिन खोज्ने र लोकतान्त्रिक संस्थाहरूमाथि अविश्वास पैदा गराउने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
ऐतिहासिक गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले भावनालाई दुरुत्साहन गरेर स्थापित संरचनालाई कमजोर बनाउँदा अन्ततः नागरिक अधिकार खोसिने र अधिनायकवाद हुर्किने जोखिम रहने औंल्याए ।
अध्यक्ष ओलीले वर्तमान समयमा संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकारक्षेत्रको अनतिक्रम्यता र रक्षा गर्नु नै समग्रमा गणतन्त्रको रक्षा भएको स्पष्ट पारेका छन् । ुलोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन र जनताले सुख पनि पाउँदैनन्। तसर्थ, लोकतान्त्रिक गणतन्त्रका यी अङ्गहरूको रक्षा गर्नु भनेको हामी सबैको भविष्यको रक्षा गर्नु हो,ुउनले भने ।
मुलुकको बदलिँदो परिस्थितिमा परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसक्दा प्रणालीप्रति नागरिकस्तरमा असन्तुष्टि उत्पन्न हुनु स्वाभाविक भए पनि त्यसको निकास लोकतान्त्रिक विधिबाटै खोज्नुपर्नेमा उनको जोड छ । लोकप्रियतावादी नारा र वास्तविक व्यवस्था बीचको भिन्नता समाजले जीवन भोगाइको नतिजाबाट बिस्तारै थाहा पाउने उल्लेख गर्दै उनले असन्तुष्टिको वैधानिक सम्बोधन गर्ने उपयुक्त माध्यम गणतान्त्रिक प्रणाली नै भएको दाबी गरे।
नेपालमा जननिर्वाचित संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको १८ वर्ष पूरा भएको अवसरमा अध्यक्ष ओलीले गणतन्त्र केवल शासन प्रणाली परिवर्तनको विषय मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताए। शताब्दीयौँसम्म ुप्रजाु भएर बाँचेको समाज आफैंले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित हुनु ऐतिहासिक प्रस्थानविन्दु भएको उनको भनाइ छ।
यो गणतान्त्रिक अधिकार प्राप्त गर्न नेपाली जनताले सात दशकभन्दा लामो संघर्ष गरेको, हजारौँ अग्रजहरूले जीउज्यान अर्पण गरेको र कयौँले दशकौँ लामो जेलनेल, यातना र निर्वासन भोगेको स्मरण गर्दै ओलीले अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरे।
नेपालले छोटो समय मात्र गणतन्त्रको अभ्यास गरे पनि यस बीचमा सामाजिक र भौतिक विकासमा ठूलो मात्रा र गुणमा परिवर्तन आएको तथ्याङ्कहरूले देखाएको सन्देशमा उल्लेख छ। गाउँगाउँमा पुगेको स्थानीय सरकार, राज्यका हरेक तहमा बढेको समावेशी प्रतिनिधित्व (महिला, दलित, जनजाति, मधेशी र पिछडिएको समुदायको सहभागिता), खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, सेवामा डिजिटल पहुँच, र सडक तथा सञ्चारको तीव्र विस्तार आकस्मिक नभई गणतन्त्रकै मुख्य उपलब्धि भएको एमाले अध्यक्ष ओलीको जिकिर छ ।
अघिल्लो पुस्ताले लोकतान्त्रिक गणतन्त्र नहुँदाको पीडा भोगेको चर्चा गर्दै अध्यक्ष ओलीले गणतन्त्र दिवसको यस पवित्र दिनमा कुनै पनि खालको आवेग वा उद्वेलनमा नआई, शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्षहरूको स्मरण गर्न र यसको सुदृढीकरणका लागि गम्भीर चिन्तन गर्न सम्पूर्णमा आह्वान गरेका छन् ।






























