Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विराट गोल्डकपको उपाधि झापा ११ को पोल्टामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


Advertisement

७ बैशाख, काठमाडौं । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सहिद रंगशालामा आइतबार राति सम्पन्न फाइनलमा घरेलु टोली सम्राट स्पोर्ट क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक यो प्रतियोगिता जितेको थियो।

 

झापाको जितमा राजेश दाहाल र दिवस उरावले गोल गरे । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए।

प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८१ औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले गोलमा परिणत गरेका थिए । झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उरावले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले फागुराम थारूको पासमा गोल गरेका थिए।

खेलको थप गरिएको ९इन्जुरी० समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर घटाए पनि हार टार्न सकेनन्।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसरहरू गुमाएका थिए। खेलको १६ औं मिनेटमा सम्राटका सुरज तामाङले पेनाल्टी क्षेत्र ९डिबक्स० भित्रबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे। त्यसलगत्तै झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरिएको थियो।

दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो। ४७ औं मिनेटमा राजेश दाहाल र ५५ औं मिनेटमा मौसम सुब्बाको कडा प्रहार बाहिरिएको थियो।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो। झापाका फागुराम थारू ‘हाइ स्कोरर’ ९सर्वाधिक गोलकर्ता० बने । उनले प्रतियोगिताभरीमा ३ गोल गरेका थिए।

सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले नगद ५१ हजार रुपैयाँ पाए। यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए।


प्रतिकृया दिनुहोस्