३ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भोगेको पछिल्लो धक्का निर्वाचनको परिणामबाट मात्रै सुरु नभएको दाबी गरेका छन्।
उनले सरकारबाट हटाइएदेखि नै एमालेविरुद्ध वातावरण बनाइएको आरोप लगाए।
राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले निर्वाचनअघि भएका ध्वंस, आक्रमण र विभिन्न गतिविधिले एमालेलाई प्रतिरक्षात्मक अवस्थामा पुर्याएको बताए।
सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोगमार्फत पार्टीलाई जनताबाट टाढा बनाइएको उनको भनाइ थियो।
उनले एमाले सरकार विस्थापनको पृष्ठभूमि नबुझी पार्टीको हारलाई केवल आन्तरिक कमजोरीसँग जोड्न नमिल्ने जिकिर गरे।
एमालेप्रति घृणा फैलाइएको र सुरक्षा निकायसमेत अनावश्यक रूपमा संलग्न गराइएको आरोप लगाउँदै ओलीले पार्टीलाई निर्वाचनमा पराजित गराइएको दाबी गरे।
समाजमा फैलिएका भ्रम र निराशा चिर्दै पुनर्जागरणको नेतृत्व एमालेले गर्ने बताउँदै ओलीले आफूहरू यस्ता प्रवृत्तिविरुद्ध लडेर विजय हासिल गर्ने दाबीसमेत गरे।

























