३ मंसिर, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
चालकसहित १० जना सवार सुमोमा रहेका सबैलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो।
उपचारका क्रममा दुई महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते सातैजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको थियो। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी छ।

























