पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यराति झैझगडा तथा कुटपिटमा संलग्न ५ जना पक्राउ परेका छन्।
मंसिर २ गते राति साढे १२ बजे लेकसाइडको स्ट्रिट नम्बर १६ मा ग्याङफाइट भएको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो।
तर, सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि पाँचै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पोखरा–१४ चाउथेका नीरज शर्मा, विराज अधिकारी, टुकबहादुर गुरुङ, मनोज पुन र स्याङ्जाको हरिनास गाउँपालिका–४ का सन्दीप थापा रहेका छन्।
उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

























