
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुरको हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा ६ हजार ३७७ ग्यास सिलिन्डर फेला पारेको छ।
ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरेको अवस्थामा ग्यास सिलिन्डर फेला परेको विभागले जनाएको छ। अनुगमन टोलीले गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर भेटाएको हो।
ग्यास सिलिन्डर लुकाएर राखेको पाइएपछि विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गराएको छ। ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।
ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सिर्जना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ।
मध्यपूर्वमा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशंकामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ ।














