
काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपाल रहेको समूह (सी)बाट वेस्ट इण्डिजले पहिलो जित निकालेको छ।
कोलाकाताको इडेन गार्डेनमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो।
वेस्ट इण्डिजले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड १८.५ ओभरमा अल आउट हुँदै १४७ रनमा समेटियो।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले सर्वाधिक ४२ रन बनाए। उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
टम ब्रुसले २८ बलमा ३५ रन बनाउने क्रममा १ चौका र २ छक्का हाने।
ओपनर जर्ज मुन्सीले १९ रन बनाउँदा अर्का ओपनर माइकल जोन्स १ रनमा आउट हुन पुगे।
ब्रान्डन मिकमुलेनले १४, मार्क वाटले १५ र म्याथ्यू क्रुसले ११ रन जोडे।
बलिङतर्फ वेस्ट इण्डिजका रोमारियो शेफर्डले ५ विकेट लिए। जेसन होल्डरले ३ तथा शमर जोशेफ र गुडकेश मोटिइले एकरएक विकेट लिए।
यसअघि स्कटल्याण्डले टस जितेपछि ब्याटिङ गरेको वेस्ट इण्डिजले ५ विकेट गुमाएर १८२ रन बनाएको थियो।
वेस्ट इण्डिजका लागि शिम्रोन हेटमायरले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६४ रन बनाए। त्यस्तै ओपनर ब्रान्डन किङले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरी ३५ रन जोडे।
सरफेन रथरफोर्डले १३ बलमा २६ रन, रोवमन पवेलले १४ बलमा २४ रनको योगदान गरे। कप्तान शाई होपले १९ रन जोडे।
बलिङतर्फ स्कटल्याण्डका ब्राड क्युरीले २ तथा सफयान शरिफ, ओलिबर डेविडसन र माइकल लिस्कले एकरएक विकेट लिए।
समूह (सी)मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली, नेपाल र स्कटल्याण्ड रहेका छन्।
नेपालले आइतबार इंग्ल्याण्डसँग, इटालीसँग माघ २९ गते, फागुन ३ गते वेस्ट इण्डिजसँग र स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ ।

















