Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं १ विवाद : दुई पटक पराजित भइसकेका रवीन्द्रले टिकट पाए विद्रोह हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन।

काठमाडौं १ मा पार्टीका सह-कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुवै जनाको दाबी परेपछि त्यसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि परेको हो। क्षेत्रीय निर्वाचन समितिले पशुपतिशम्शेर राणालाई पहिलो र उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो। राणाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफ्नो दाबी प्रस्तुत गरेका छन्। मिश्रले पनि आफ्नो उम्मेदवारी रहने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष मिश्र यो निर्वाचन क्षेत्रबाट दुई पटक पराजित भइसकेका छन् भने यस पटक क्षेत्रीय समितिले उनको नाम सिफारिस गरेको थिएन। यस पटक क्षेत्रीय समितिले उनको नाम सिफारिस नगरेको भए पनि उनले आफ्नै पहलमा बैठक आयोजना गरी आफ्नो नाम जिल्ला समितिमा पठाएको आरोप पार्टीभित्रै लागेको छ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले दुई पटक पराजित भइसकेका उम्मेदवारलाई पुनः टिकट दिए संगठन कमजोर हुने र कार्यकर्तामा असन्तुष्टि बढ्ने बताउँदै आएका छन्। मिश्रलाई टिकट दिए कडा विरोध र विद्रोह हुन सक्ने चेतावनीसमेत उनीहरूले पार्टी नेतृत्वलाई दिएका छन्।

राप्रपाले विवाद मिलाउन आइतबार दुवै पक्षसँग छलफल गर्ने जनाएको छ। उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी गराए।

यसैबीच, काठमाडौं–१ का स्थानीय बासिन्दाले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै बाहिरबाट ल्याइनेभन्दा स्थानीय र संगठनमा सक्रिय व्यक्तिलाई उम्मेदवार बनाउन माग गरेका छन्। पार्टी नेतृत्वको निर्णयले आगामी चुनावमा राप्रपाको परिणाम कस्तो हुने भन्नेमा प्रभाव पार्ने देखिएको छ।


प्रतिकृया दिनुहोस्