
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवशेनको हस्ताक्षर फिर्ताका बारेमा कपोकल्पित हल्ला फिँजाइएको बताएका छन् ।
आधिकारिकतासम्बन्धी जानकारी दिन शुक्रबार (माघ २) निर्वाचन आयोगमा पुगेका शर्माले विधिसम्मत रूपमा फिर्ता नभएको हस्ताक्षरलाई खारेज गरिएको बताए । प्रक्रिया सुरु हुन्छ, प्रक्रिया सकिन्छ, त्यसपछि गाउँ फर्किसकेको कोही साथीको नाम चाहिँ अचानक हस्ताक्षर फिर्ता भनेर आउँछ भने त्यसलाई मैले धेरै टिप्पणी गर्न चाहन्नँ । तर, यो युक्तिसंगत विल्कुल होइन, शर्माले भने, त्यो कपोकल्पित छ, पूर्णरूपमा खारेजयोग्य छ । म नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको तर्फबाट त्यसलाई खारेज गरिएको जानकारी गराउँछु ।
उनले २९ जनाले मात्रै समयमा हस्ताक्षर फिर्ता गरेको जानकारी दिए । कसैले हस्ताक्षर गर्नुभएको छ र त्यो फिर्ता लिनुभयो भने अनौठो मान्नु हुँदैन । तर, त्यो दर्ता गर्ने एउटा म्याद हुन्छ, फिर्ता गर्ने पनि म्याद हुन्छ, शर्माले भने, ूसमयाधिभित्र फिर्ता भएका संख्या २९ जना हो । जम्मा २९ जनाले मात्रैले यसबीचमा विशेष महाधिवेशनको लागि दर्ता गरेपछि फिर्ता गरेका हुन् ।
अन्यको हस्ताक्षर फिर्तालाई नेपाली कांग्रेसको केन्द्रीय समितिले खारेज गरेको उनको भनाइ छ । लोकतन्त्रमा उमेदवार दर्ता र फिर्तासम्बन्धी विधि हुन्छ । संसदीय पद्दतिमा विश्वास गर्ने कांग्रेस र कांग्रेसका सदस्यमा त्यसमा विश्वास गर्छौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यलयबाट हस्ताक्षर गर्ने साथीहरूको हस्ताक्षर सनाखत गराइएको भए, सनाखत गरेको बेलमा कुनै साथीले फिर्ता गर्नुभएको भए, निर्वाचन आयोगले त्यसलाई नगरेको भन्ने बुझ्ने हुन्थ्यो । विशेष अधिवेशन चलिरहेको बेलामा पनि फिर्ता लिएको भए, फिर्ता मान्न मिल्थ्यो,शर्माले भने ।
हस्ताक्षर गर्ने र फिर्ता लिने निश्चित समय हुने पनि शर्माको भनाइ छ । महाधिवेशन सकिएर गाउँ फर्किसकेपछि फिर्ता गरिएको हस्ताक्षर आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।

















