
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको गत मङ्सिर २७– पुस ३ मा सम्पन्न पार्टीको ११ औँ महाधिवेशन नेकपा (एमाले) को आन्तरिक विषय मात्र नभएर त्यसले समग्र राष्ट्रिय राजनीतिलाई नै सकारात्मक रूपले प्रभावित गरेको बताएका छन् ।
महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटीलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर छ भन्ने भ्रमलाई चिर्दै मुलुकमा लोकतन्त्रलाई पुनर्स्थापित गर्न र सुदृढीकरणको अगुवाइ गर्न थप नैतिक बल प्राप्त भएको बताएका हुन् ।
‘यससँगै महाधिवेशन पूर्वका समूहबन्दी, केही विवाद र प्रश्नहरु विधिवत् रूपमा टुङ्गिएका छन् र पार्टीको आन्तरिक एकता सुदृढ भएको छ । महाधिवेशनले दिन खोजेको यो अर्को सशक्त सन्देश हो’, अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीको सचेतन, सक्रिय र हस्तक्षेपकारी भूमिका एवं लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको समेत प्रयासमा हामीले प्रतिगमनको थप शृङ्खलालाई रोक्न सफल भएको भन्दै स्थापित राजनीतिक दलहरूलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको बताएका छन् ।
‘दलहरूसँग संवाद गर्ने ठाउँमा आइपुगेको छ । स्थापित दलहरूलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्नेजस्ता विभिन्न शङ्कास्पद पात्रहरूको माकफुइँलाई विफल तुल्याइएको छ’, ओलीले बैठकमा लिखित सम्बोधन गर्दै भनेका छन्- ‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई भदौ २३–२४ का घटनामा सम्भव भएसम्म मुछ्ने र त्यसो गर्न नसकिए पनि मिथ्या प्रचार, मिडिया ट्रायल र ’समन’ र ‘बयान’ मार्फत तेजोवध गर्ने प्रयास पनि असफल भएको छ ।’
उनले अहिले राजनीतिक ध्रुवीकरण पनि तीव्र भएको बताएका छन् । ‘एकातिर ‘पुराना दल’ र अर्कातिर ‘नयाँ दल’ बिचको ध्रुवीकरण भनेर चर्चा गरिए पनि यतिबेला मुलुकको राजनीति कुनै राजनीतिक दर्शन, विचारधारा या मुद्दामा होइन, भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनर्स्थापित गर्ने भन्ने विषयमा राजनीति ध्रुवीकृत हुन थालेको छ’, ओलीले भनेका छन्- ‘धम्की, घृणा, निषेध र हिंसाको बलमा लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि र आफूहरूले गराएकै निर्वाचनका माध्यमबाट पनि लोकतान्त्रिक शक्तिहरूले पुनरागमन गर्ने देखेपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको अवस्था छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राजनीतिक पार्टीहरूकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुने भए पनि यतिबेला विचारविहीन, कुनै सार्वजनिक जबाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरूलाई चुनौती दिइरहेको बताए ।
‘कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरूले हेर्दाहेर्दै समस्याहरूको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदैछ । तर न त विध्वंस आन्दोलन हो, न ‘पपुलिज्म’ नै अग्रगामी विकल्प’, रवि बालेनप्रति लक्षित गर्दै ओलीले भने- ‘पपुलिज्म‘ ले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ, सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंस र यही हो सिलसिला १ थप समस्या जन्माउँदै जान्छ ।’
सत्तामा जान जस्तोसुकै भावना पनि बेच्ने र जस्तोसुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरूले हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्ने पनि ओलीको भनाइ छ ।
‘त्यसैले भदौ २४ को विध्वंसको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत् र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरुबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ’, ओलीको भनाइ छ ।
उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइ नसकेको भन्दै लोकतन्त्र सङ्कटमा रहेको तथा संविधान मिचिएको अवस्थामा जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको बताए ।
‘समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन्’, ओलीले भने- ‘मुलुकमा केही पनि भएन भनेर जबरजस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरूमा निराशा र अन्योल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी सम्बोधन गर्नुपर्नेछ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरू बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ ।’
त्यसका लागि प्रयास गरिरहेका भन्दै ओलीले एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको बताए ।

















