Skip

Hamro Sanchar

बीपीएलमा सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्स पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल)मा सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्स पराजित भएको छ ।

राजशाहीले शुक्रबार भएको रोमाञ्चक खेलमा चटोग्राम रोयल्ससँग दुई विकेटको हार व्यहोरेको छ ।

साइलेटमा भएको खेलमा राजशाहीले दिएको १२९ रनको लक्ष्य चटोग्रामले दोस्रो इनिङको अन्तिम बलमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

चटोग्रामका हसन नवाजले अविजित ३५ रन जोडे । कप्तान मेहदी हसनले २८ रन बनाए । आसिफ अलीले २७ र एडम रोसिङ्टनले १७ रन थपे ।

राजशाहीबाट बिनुरा फर्नान्डोले सर्वाधिक तीन विकेट लिए । एसएम मेहेरोबले दुई विकेट लिए ।

यस्तै, नेपाली स्पिनर सन्दीप लामिछाने, रिपोन मोन्डल र तान्जिम हसन साकिबले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको राजशाहीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

राजशाहीबाट ब्याटिङको अवसर समेत पाएका नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानले पाँच रन बनाए ।

१०औँ नम्बरमा क्रिजमा आएका सन्दीपले अन्तिम दुई ओभर ब्याटिङ गरेका थिए । उनले सात बलको सामना गर्दा बाउन्ड्री भने प्रहार गर्न सकेनन् ।

राजशाहीका मुहम्मद वसिम र एसएम मेहेरोबले समान १९ रन जोडे । अकबर अलीले १७, मुस्ताफिकर रहिमले १५, तान्जिम हसन साकिबले १४ र र्‍यान बर्लले ११ रन थपे ।

चटोग्रामका अमर जमिलले तीन विकेट लिए । चार ओभरमा उनले २३ रन मात्र खर्चिए । तान्विर अस्लम र सोरिफुल इस्लामले समान दुई विकेट लिए । मेहदी हसन र हसन नवाजले एकरएक विकेट लिए ।

प्रतियोगितामा चटोग्राम शीर्षस्थानमा छ । चटोग्रामले सात खेलबाट १० अंक जोडेको छ । चौथो स्थानको राजशाहीले ६ खेलबाट आठ अंक नै जोडेको छ ।


प्रतिकृया दिनुहोस्