Skip

Hamro Sanchar

आशिका तामाङले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,ुदलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु । यसै सन्दर्भमा, म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं.२ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछ। विशेष गरी जेनजीका भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसद्‌भित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ ।

उनले उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित भएको बताइन्।

युवाहरूको सपना, भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्ने उनले विश्वास समेत व्यक्त गरिन् ।

सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै स्वच्छ र सचेत राजनीतितर्फको यात्रामा साथ र सहकार्यको अपेक्षा समेत गरिन् ।

युवा पुस्ताको भावनाको कदर, ​सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा र ​भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँ आफ्नो अठोट भएको समेत बताइन् ।

 


प्रतिकृया दिनुहोस्