Skip

Hamro Sanchar

जिल्लाले थुनामुक्त गर्न अस्वीकार गरेपछि टोपबहादुर पुगे उच्च अदालत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न अस्वीकार गरेपछि उच्च अदालत पाटन पुगेका छन् ।

रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले पुस २४ गते बिहीबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२०बमोजिम निवेदन दिएका हुन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी सो उपर उच्च अदालत पाटन पुगेका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० मा दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले निजलाई थुनाबाट छाड्ने आदेश दिन सक्ने उल्लेख छ । रायमाझीले दफा ७१ ९२० मा टेकेर जिल्ला अदालतमा निवेदन दिएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध रायमाझीसहित उच्च अदालत पाटन पुगेका थिए । रायमाझी लगायतको हकमा उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए । सर्वोच्चले पनि छाड्न अस्वीकार गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।


प्रतिकृया दिनुहोस्