Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाँचौँ बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता कागेश्वरी मनोहरामा हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २३ गते


Advertisement

काठमाडौं । पाँचौँ बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता कागेश्वरी मनोहरा नगरपालिकामा आयोजना हुने भएको छ। प्रतियोगिता आगामी शनिबार र आइतबार (पुष २६ र २७ गते) कागेश्वरी मनोहरा नगरपालिकाको प्रांगणमा सञ्चालन हुनेछ।

जिल्ला समन्वय समिति काठमाडौंको समन्वय तथा बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने यस लिगको दोस्रो संस्करण कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गर्न लागेको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको उद्देश्य खेलाडीको क्षमता अभिवृद्धि गर्दै प्रदेश तथा राष्ट्रियस्तर हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्नु रहेको जानकारी दिएको छ। प्रदेश स्तरीय खुल्ला तेक्वान्दो लिग गत वर्षदेखि सञ्चालनमा आएको हो, जुन वर्षमा चार पटक आयोजना गरिन्छ। लिगमार्फत खेलाडीहरूको वरियता (र्‍याङ्किङ) निर्धारण गरिनेछ।

२० तौल समूहमा प्रतिस्पर्धा

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष र महिला गरी कुल २० तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
जुनियर पुरुषतर्फ ३५–३८, ३८–४१, ४४–४७, ४७–५० केजी तथा सिनियर पुरुषतर्फ ५०–५४, ५४–५८, ५८–६३, ६३–६८ र ६८–७२ केजी तौल समूह समावेश छन्।

त्यसैगरी जुनियर महिलातर्फ २८–३१, ३१–३४, ३४–३७, ३७–४०, ४०–४३ केजी र सिनियर महिलातर्फ ४३–४६, ४६–४९, ४९–५३, ५३–५७ र ५७–६१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

अंक प्रणाली र पुरस्कार

लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक र तेस्रोले ३ अंक प्राप्त गर्नेछन्। लिगभरको समग्र प्रदर्शनका आधारमा उत्कृष्ट महिला एक जना र पुरुष एक जनालाई जिल्ला समन्वय समिति काठमाडौंले मोटरसाइकल पुरस्कार प्रदान गर्ने जनाएको छ। प्रत्येक लिगका विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यसैगरी हरेक लिगमा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा सहभागी हुनका लागि खान, बस्न र यातायात खर्च जिल्ला समन्वय समितिले व्यहोर्ने जानकारी दिइएको छ।

प्रतियोगितामा बागमती प्रदेशका पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकालाई खेलकुदको केन्द्र (हब) बनाउने लक्ष्य लिएको बताए।

“हामी कागेश्वरी मनोहरालाई खेलकुद हवको रूपमा विकास गर्न चाहन्छौं। खेलकुदमार्फत नगरपालिकाको परिचय बनाउने, विकास गर्ने र युवालाई सकारात्मक दिशामा लैजाने हाम्रो उद्देश्य हो। खेलकुदलाई चलायमान बनाउन सके आर्थिक गतिविधि पनि चलायमान हुन्छ,” नगरप्रमुख कार्कीले भने।

कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले खेलकुद विकासलाई नगरपालिकाले दीर्घकालीन योजनाका रूपमा अघि बढाएको बताए।

यस्तै कार्यक्रममा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले नगरप्रमुख कार्की खेलकुदप्रेमी रहेको उल्लेख गर्दै यस्तो नेतृत्व पाउनु दुर्लभ भएको बताए। उनले बागमती प्रदेश तेक्वान्दो संघका लागि आवश्यक पूर्वाधार विकासका लागि जग्गा उपलब्ध गराइदिन नगरपालिकासँग अनुरोधसमेत गरे।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले खेलकुदमा संलग्न युवालाई देशमै टिकाइराख्ने नीति आवश्यक रहेको भन्दै यस्ता प्रतियोगिताले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगर प्रवक्ता हरिभक्त पुडासैनीलगायत खेलकुद क्षेत्रसँग सरोकार राख्ने व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिकृया दिनुहोस्