Skip

Hamro Sanchar

एन्फा यू–१६ युथ लिग : २४औँ खेलमा सातदोबाटो पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ९ गते


काठमाडौं । सातदोबाटो युथ क्लबले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी)सँग ९–३ को लज्जास्पद हार व्यहोरेको छ ।

यो सातदोबाटाको लगातार २४औँ हार हो । अंकविहीन बन्दै तालिकाको पुछारमा रहेको सातदोबाटोले हालसम्म २४ खेल खेल्दा एक खेलमा पनि जित हासिल गरेको छैन ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यलयमा एनआरटीलाई जित दिलाउन सुनिल घर्तीमगरले ‘ह्याट्रिक’ प्रहार गरे । जेनिस घले, सुशान्तकुमार श्रेष्ठ, मौसम दाहाल, सुगम राना, प्रिन्स बिके र अनमोल सुवेदीले समान एक गोल गरे । जवाफमा सातदोबाटोका सर्जकधोज थापाले दुई गोल गर्दा आर्यन भट्टले एक गोल फर्काए ।

खेलको २३औँ मिनेटमा आर्यनले सातदोबाटोलाई अग्रता दिलाए । तर, सातदोबाटोले यो अग्रता लामो समय जोगाउन सकेन । २६औँ मिनेटमा एनआरटीका सुनिल घर्तीले टोलीको निम्ति बराबरी गोल फर्काएका थिए ।

३५औँ मिनेटमा उनै, सुनिल घर्तीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । ४०औँ मिनेटमा जेनिसले अग्रतामा एक गोल थपे । पहिलो हाफको इन्जुरी टाइममा सुशान्त कुमारले गोल गरेपछि, एनआरटीले ४–१ को अग्रता कायम गर्‍यो ।

५४औँ मिनेटमा एनआरटीका सुनिल घर्तीले टोलीको निम्ति ‘ह्याट्रिक’ प्रहार गरे ।

७४औँ र ७९औँ मिनेटमा सातदोबाटोका सर्जकधोजले गोल गर्दै टोलीलाई ३–५ को स्थितिमा फर्काए । तर, एनअरटी यसपछि पनि रोकिएन ।

८७औँ मिनेटमा मौसम दाहालले एनआरटीका लागि छैटौँ गोल गरे । यसपछि, इन्जुरी टाइममा सुगम, प्रिन्स र अनमोलले समान एक गोलगरेपछि, एनआरटीले ९–३ को जित पक्का गरेको हो ।

जितसँगै एनआरटीले तालिकामा २७ अंक बनाएको छ । एनआरटीले २४ खेल खेल्दा ६ जित, समान नौ बराबरी र हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।

 


प्रतिकृया दिनुहोस्