
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको कर्णालीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्यो ।
कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए । यसक्रममा उनले समान एक चौका र छक्का प्रहार गरे ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झाले १९ रन बनाए । अविजित रहेका कप्तान सोमपाल कामीले १८ रन जोडे । प्रियांक पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन जोडे ।
जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई विकेट लिए । संगीथ कुरे, अनिलकुमार साह र माज सदाकतले समान एक विकेट लिए ।
तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ । गत वर्ष प्लेअफमा स्थान बनाएको कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो । यो कर्णालीले यस सिजन निकालेको एक मात्र जित हो ।
यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।


















