Skip

Hamro Sanchar

लिनको अर्धशतकमा चितवनविरुद्ध सुदूरपश्चिमको १७० रनको चुनौतीपुर्ण लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


काठमाडौं । ओपनर क्रिस लिनको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको हो ।

सुदूरपश्चिमका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । लिन १७औँ ओभरको समाप्तिसँगै ‘रिटायर्ड हर्ट’ भएका थिए ।

लिनले ९२–४ को स्थितिबाट आरिफ सेखसँग पाँचौँ विकेटका निम्ति ४५ रनको साझेदारी गरेका थिए ।

आरिफले १६ बलमा दुई चौका र एक छक्कासहित अविजित २६ रन थपे । ओपनर विनोद भण्डारीले १७ बल खेल्दा दुई चौका र एक छक्कासहित २१ रन बनाए । पुनित मेहराले १३ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ बलमा दुई चौकासहित २४ रनमा अविजित रहे ।

चितवनका सैफ जैबले दुई विकेट लिए । जर्ज स्क्रिमस र रञ्जित कुमारको नाममा एक–एक विकेट रह्यो ।

प्रतियोगितामा सुदूरपश्चिमले प्लेअफ यात्रा तय गरिसकेको छ । सुदूरले आजको खेलमा जित निकाले शीर्ष स्थान सुनिश्चित गर्नेछ । पाँच खेलमा १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । यता, चितवन भने प्लेअफ दौडमा कायम रहन जितको दबाबमा छ । तालिकाको छैटौँ स्थानमा रहेको चितवनले पाँच खेलबाट चार अंक जोडेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकालेको थियो ।


प्रतिकृया दिनुहोस्