
काठमाडौं । ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकप्रेरित काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको हो ।
काठमाण्डूका ओपनर बेनले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । ७९–५ को स्थितिबाट बेनले भीम सार्कीसँग छैटौँ विकेटका निम्ति ७६ रनको साझेदारी गर्दै काठमाण्डूको इनिङ सम्हालेका थिए ।
विस्फोटक ब्याटिङ गरेका भीमले २३ बलमा पाँच चौका र चार छक्कासहित ५५ रन थपे । १९ बलमा अर्धशतक पूरा गरेका भीम दोस्रो संस्करणमा सबैभन्दा छिटो ५० रन बनाउने ब्याटरसमेत बने । उनीअघि सुदूरपश्चिमका हर्मित सिंहले २० बलमा अर्धशतक बनाउँदै यो कीर्तिमान बनाएका थिए ।
मिलिन्द कुमारले १३ रन थपे । काठमाण्डूका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । ओपनर आकाश त्रिपाठी गोल्डेन डक भए ।
पोखराका धनञ्जय लक्षणले चार विकेट लिए । चार ओभर बलिङ गरेका लक्षणले एक मेडनसहित १६ रनमात्र खर्चिए । कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । चार ओभरको स्पेलमा कप्तान भुर्तेलले २५ रन खर्चिए । किरण ठगुन्ना र विपीन खत्रीले समान एक विकेट लिए ।
काठमाण्डूले यसअघि चार खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ । आजको खेलमा जित निकालेको खण्डमा काठमाण्डू प्लेअफको लागि छनोट हुनेछ । काठमाण्डू गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुआत गरेको थियो ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार व्यहोरेको थियो । चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले, पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रनले र छैटौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो ।
पोखरको यो छैटौँ खेल हो । पोखराले यसअघिको पाँच खेलमा दुई जित र तीन हार व्यहोरेको छ । पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो । चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार व्यहोरेको हो । पाँचौं खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो ।


















