Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली युवा टोली यू-१९ प्रिमियर कपको फाइनल प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १३ गते


Advertisement

काठमाडौं । मलेसियालाई पराजित गर्दै नेपाली युवा टोली एसीसी मेन्स यु-१९ प्रिमियर कपको फाइनल प्रवेश गरेको छ।

शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको छ।

नेपालका वंश क्षेत्री २३ र निश्चल क्षेत्री १५ रनमा अविजित रहे। ओपनर निरजकुमार यादव चार रनमा क्याच आउट भए। नेपालले १३ अतिरिक्त रन पाएको थियो।

त्यसअघि युएईको अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउन्ड-२ मा नेपालले टस जितेर मलेसियालाई ब्याटिङका लागि निम्त्याएको थियो। पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटिएको थियो।

मलेसिया एक समय ६.३ ओभरमा ६ विकेट गुमाएर १३ रनको अवस्थामा थियो। नेपालविरुद्ध हमजाह पंगेनेलीले बनाएको १३ रन नै सर्वाधिक रह्यो। मोहम्मद फातुलले ११ रन थपे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका नितेशकुमार पटेलले चार विकेट लिए। नितेशले आठ ओभरमा दुई मेडन राख्दै २४ रन खर्चे।

चन्दन रामले तीन विकेट झारे। चन्दनले पाँच ओभरमा एक मेडन राख्दै १७ रन दिए। अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक–एक विकेट लिए।

नेपालले अब उपाधिका लागि ओमान र युएईबीचको खेलको विजेतासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा अहिले युएई र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रिमियरको कपको फाइलनमा पुगेसँगै नेपाल एसीसी मेन्स यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ। प्रिमियर कपका सहभागी १४ टोलीमध्ये शीर्ष तीन टोली एसिया कपमा छनोट हुनेछन्। यू–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदै छ ।


प्रतिकृया दिनुहोस्